संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


 


काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियभा बैठक सवा ११ बजे बस्न लागेको हो ।

प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अन्य विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका सम्भावित कार्यसूची छन् ।

राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्