सरकारलाई सफल बनाउनुपर्छः महासचिव पोखरेल


 



काठमाडौंँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताउनुभयो । नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उहाँले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गर्नुभयो । “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उहाँले भन्नुभयो, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ ।”

बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिनुभयो । बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्