नर्स हत्यामा संलग्न प्रेमी भनिएका युवक पनि मृत फेला


 


विराटनगर, चैत ५ । विराटनगरमा गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न उनका प्रेमी भनिएका युवक पनि मृत फेला परेका छन् ।

विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

प्रहरीले दासको प्रेमी रहेका शिव शङ्करले नै हत्या गरेको हुनसक्ने आशङ्का गरेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्