दुबई पठाइदिने भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन


 


काठमाडौँ, चैत ३ । दुबईमा पार्लरको काममा पठाइदिने भन्द्यै प्रलोभनमा पारी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई पक्राउ गरेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कटुवालले नेपालमा ब्युटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकट लगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै कुवेतमा पुगे पश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो ।

कटुवालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्