इपिएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप


 


काठमाडौँ । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ ।

नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।

सो शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको जानकारी दिइन् ।

उनका अनुसार नेपालबाट इपिएसमार्फत कोरिया जाने प्रक्रियामा सुधार तथा परीक्षा प्रणालीको व्यवस्थापन गर्न अनुरोध गर्दै कोरियाले नेपाललाई दुई पटक पत्र पठाएको छ ।

पहिलो पत्रमा कोरियाले नेपाललाई यो वर्ष निर्धारण गरेको कोटा थप गरिएको जानकारी दिएको छ भने दोस्रो पत्रमा भाषा परीक्षामा सहभागीको सङ्ख्या बढ्दै गएर परीक्षा समयमा नसकिने अवस्थालाई सुधार गर्न वैकल्पिक व्यवस्थापन गर्न अनुरोध गरेको जानकारी निर्देशक कँडेलले दिइन् ।

यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । गोरखापत्रबाट

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्