घरमा आमा रुवाएर मन्दिर किन धाउँछौ
घरमा आमा रुवाएर मन्दिर किन धाउँछौ
फूलपाती, अक्षता र चन्दन किन लाउँछौ
घर हो मन्दिर, आमा देवता, उनैलाई पूज
आमा चिने जीवन तिम्रो सार्थक हुन्छ बुझ
समयमै आमा चिन, आमालाई मान
सबैभन्दा ठूलो देवता आमा हुन् जान।
पिठ्युँ बोकी तिमीलाई डुलाएको भुल्यौ
ननिदाई तिमीलाई झुला झुलाएको भुल्यौ
तिमी रुँदा आँसु पुछि फुल्याएको भुल्यौं
कोखाई कोखाई माम खुवाएको भुल्यौ।
अचेल आमा भुल्ने रोग सबैलाई ला’छ
यसले नेपालमात्र होइन, विश्वलाई नै खा’छ
बाँचुञ्जेल वास्ता छैन, रुन्छौ मरेपछि
फुलको अर्थ कहाँ छ र, भुईँमा झरेपछि!
आमा नै हुन् तिमीलाई हुकाई बढाउने
आफू अक्षर नपढे नि तिमीलाई पढाउने
आमा नै हुन् ममताको महल ठड्याउने
उनै हुन् है सफलताको सिँढी चढ्याउने।
घरमा आमा रुवाएर मन्दिर किन धाउँछौ
फूलपाती, अक्षता र चन्दन किन लाउँछौ।
सरोजा सिग्देल
सेतोपाटीबाट
प्रकाशित मिति: १ असार २०७२, मंगलबार