एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा


 


धरान, १ चैत । न्यु रोड टिम (एनआरटि) २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा एनआरटिले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेङ सेन्टर झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमले बराबरी १–१ गोल मात्र गरेपछि टाइब्रेकरबाट खेलको छिनोफानो गरिएको थियो । टाइब्रेकरमा एनआरटिका सरोज तामाङ, सनम लिम्बु, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरे । झापाको पहिलो प्रहार नै असफल भएको थियो । झापाका विशाल घलानको प्रहार एनआरटिका गोलकिपर प्रमिजय गच्छदारले असफल बनाइदिए । झापाका विमल घर्ती मगर, अभिषेक गुरुङ, दिवस उराउ र देवेन्द्र तामाङको प्रहार भने गोल भएको थियो ।

निर्धारित समयको खेलमा भने पहिलो हाफको ४३ औं मिनेटमा झापाका विदेशी खेलाडी फोडा फोपानेले गोल गरेका थिए । लगत्तै इञ्जुरी समयमा एनआरटिका सरोज तामाङले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । उनले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो । उनी म्यान अफ दि म्याच घोषित हुदै नगद १० हजार, ट्रफी, टिसर्ट पुरस्कार हात पारे । उपाधिको लागि शनिबार एनआरटी र मोरङ फुटबल संघबीच फाइनल खेल हुनेछ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्