दुईवटा मन्दिरमा तोडफोड गर्ने युवक पक्राउ


 


सर्लाही, चैत १ । सर्लाहीमा मन्दिरमा तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका–९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठालाई पक्राउ गरेको हो ।

बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयनिधी ज्ञवालीले जानकारी दिए । उनका अनुसार उनले मंगलबार साँझ मन्दिर तोडफोड गरेका हुन् ।

बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्