प्रधानमन्त्रीको सर्त,संसदको अवरोध नहटेसम्म उपत्यका बाहिर नजाने


 


काठमाडौं, पुस १५
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन्।

निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन्।
‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताएका छन् ।,’ घर्तीले भनिन्, ‘मलाई विश्वास छ, अब दलहरूले योबीचमा घनीभूत छलफल गरेर सहमति निकाल्नुहुनेछ।’

सभामुख ओनसरी घर्तीले कार्याव्यवस्था परामर्श समिति बैठकमा संसद् अवरोध खुलाउन सदनमै घनीभूत छलफल गराउने विषयमा साझा धारणा बनेको बताइन्। उनले भनिन्, ‘अब पनि दलहरू सहमति जुटाउन गम्भीर भएनन् भने अवरुद्ध संसद् खुलाउन सदनमै घनीभूत छलफल गराउने विषयमा कार्यव्यवस्था परामर्श समिति बैठकमा साझा धारणा बनेको छ।’

सदनमा अनिवार्य उपस्थित हुन दलका प्रमुख सचेतक, सचेतकहरूमार्फत सभामुखले सांसदलाई आग्रह गरेकी छिन्। उनले भनिन्, ‘मैले उहाँहरूलाई भ्यालीबाहिर नजान पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ। संसदभित्रै बैठक गर्न मैले निर्देशन दिएको छु, आशा गरौँ योबीचमा सहमति हुन्छ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्