आफ्ना पालामा अमेरिकामा टिकटक बन्द गर्ने प्रयास गरेका ट्रम्पद्वारा अहिले त्यस्तो प्रस्तावको विरोध


 


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकको माउ कम्पनीले यो एप बेच्नुपर्ने, अन्यथा अमेरिकामा उक्त एप बन्द गर्ने प्रस्तावसहित संसद्‌मा दर्ता भएको एक विधेयकको विरोध गरेका छन्।

राष्ट्रपति पदमा बहाल रहँदा सन् २०२० मा टिकटकमा प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अहिले भने त्यस्तो प्रतिबन्धले फेसबुकको माउ कम्पनी मेटालाई अनुचित लाभ दिने बताए।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइट्ड्यान्सलाई आगामी ३० सेप्टेम्बरभित्र टिकटक बेच्न बाध्य पार्न सक्ने एक विधेयकमाथि हाल सांसदहरू छलफल गरिरहेका छन्।

राष्ट्रपति जो बाइडनले संसद्ले उक्त विधेयक पारित गरेमा आफूले प्रमाणित गरिदिने बताएका छन्।

टिकटकबारे ट्रम्पको धारणा
सोमवार एनबीसीसँग कुरा गर्दै ट्रम्पले भने, “टिकटकबिना तपाईँ फेसबुकलाई अझ ठूलो बनाउन सक्नुहुन्छ र म फेसबुकलाई जनताको शत्रु मान्छु।”

टिकटकको सुरक्षासम्बन्धी व्यवस्थाबारे सोधिएको प्रश्नमा रिपब्लिकन पार्टीका तर्फबाट आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवार हुने ठानिएका ट्रम्पले भने, “त्यसमा धेरै राम्रो कुरा छ र धेरै नराम्रो पनि।”

उनले थपे, “टिकटकमा भएका धेरै मान्छे यसलाई मन पराउँछन्। टिकटकबिना ‘पागल’ हुने धेरै केटाकेटी पनि छन्।”

टिकटकलाई राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा लिने मानिसहरूसँग आफू पनि सहमत रहेको तर अमेरिकी सरकारका लागि फेसबुक पनि उत्तिकै चुनौतीका रूपमा रहेको ट्रम्पले बताए।

“मलाई लाग्छ हाम्रो देशका लागि फेसबुक एकदमै खराब भएको छ, विशेष गरी चुनावका सन्दर्भमा,” उनले भने।

अमेरिकामा टिकटक विवादमा पर्नुको कारण
अमेरिकामा अघिल्लो राष्ट्रपतीय चुनावका बेला पनि टिकटक प्रतिबन्धको माग उठेको थियो

अमेरिकाको गुप्तचर समुदायले चिनियाँ सरकारले अमेरिकी नेतृत्वबारे शङ्काको बीजारोपण गर्न तथा प्रजातन्त्रलाई कमजोर बनाउन टिकटकलाई प्रयोग गरेको भनी चेतावनी दिएको छ।

अमेरिकाको अफिस अफ द डाइरेक्टर अफ न्याश्नल इन्टेलिजन्सले सोमवार सार्वजनिक गरेको सुरक्षा चुनौतीसम्बन्धी वार्षिक प्रतिवेदनमा चिनियाँ सरकारका प्रोपागान्डा फैलाउने औजारका रूपमा टिकटक खाताले “सन् २०२२ मा राष्ट्रपतीय चुनावको मध्यावधि चक्रमा दुवै राजनीतिक दलका उम्मेदवारहरूलाई तारो बनाएको बताइएको” उल्लेख छ।

यस वर्षको नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लाागेको सन्दर्भमा ट्रम्पको पछिल्लो टिप्पणीले टिकटक मात्र नभई सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।

सन् २०२० मा ट्रम्प र बाइडनबीच राष्ट्रपतीय निर्वाचन हुने बेला पनि टिकटकलाई बिक्री गराउने वा प्रतिबन्ध लगाउने मागसहित अभियान चलेको थियो।

त्यतिबेला अमेरिकी अधिकारीहरूले चिनियाँ प्रविधि कम्पनी बाइट्ड्यान्ससँग भएको डेटा चिनियाँ सरकारसम्म पुग्न सक्ने बताएका थिए।

टिकटकका अधिकारीहरूले भने आफूले चिनियाँ सरकारलाई कुनै डेटा उपलब्ध नगराउने र यस्तो डेटा मागेको अवस्थामा पनि अस्वीकार गर्ने बताएका छन्।

अघिल्लो चुनावको केही महिनाअघि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइट्ड्यान्सलाई ९० दिनभित्र टिकटक बेच्न कार्यकारी आदेश दिए पनि कानुनी चुनौतीका कारण त्यो कार्यान्वयन भएको थिएन।

ट्रम्पका पछिल्ला गतिविधिको सङ्केत
ट्रम्पसँग नजिक रहेको ठानिएको कन्जर्भेटिभ पैरवी समूह ‘क्लब फर ग्रोथ’ले अचेल टिकटकमा प्रतिबन्ध लगाउने प्रस्तावको कडा विरोध गर्ने गरेको छ।

ट्रम्प ह्वाइट हाउसमा रहँदा उनका प्रमुख सहयोगीमध्ये एक रहेकी केल्यान कन्वेले कङ्ग्रेसमा टिकटकका पक्षमा पैरवी गर्दै आएकी छन्।

गत साता ट्रम्पले ‘क्लब फर ग्रोथ’का मुख्य दाता जेफ यासलाई भेटेका थिए।

यसैबीच अमेरिकी न्याय मन्त्रालय, गुप्तचर निकाय एफबीआई र अन्य राष्ट्रिय सुरक्षा निकायका प्रतिनिधिहरू मङ्गलवार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा टिकटकबारे आफ्नो भनाइ राख्दै छन्।

गत साता कङ्ग्रेसको एक समितिले टिकटकबारेको विधेयक पारित गरेको थियो। यसको पक्षमा ५० मत पर्दा विपक्षमा शून्य मत परेको थियो।

अब यो कानुन बनेर लागु हुनका लागि माथिल्लो सदन सिनेटले पनि स्वीकृत गर्नुपर्छ।

विशेष गरी अमेरिकाको नयाँ पुस्तामाझ टिकटक लोकप्रिय रहेको बीबीसीको साझेदार सञ्चार संस्था सीबीएस न्यूजले जनाएको छ

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्