त्रिकोणात्मक टी–२० शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्ने


 


काठमाडौँ, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेभएको छ ।

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेपछि उपाधिका लागि नेपालसंगको भेट पक्का भएको हो ।

नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११स्४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

मंगलबार खेलिएको दोस्रो खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।

टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे । उनले केवल ३३ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाए । उनले ४३ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । पीएनजीले अतिरिक्त रुपमा १२ रन पायो ।

पहिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २९ बलको सामना गरी ६ छक्का र एक चौका पनि हिर्काएका थिए । नसरुल्ला राणाले १६ रन बनाए । एहसान खानले १६ रन जोडे ।

अनुभवी ब्याट्सम्यान बाबर हायात भने १२ रन बनाउँदै आउट भए । हङकङका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई(दुई विकेट लिएका थिए ।

त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्