सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द, बेहुलासहित ८ जना पक्राउ


 


जनकपुरधाम, फागुन २९ । दाइजोमा सुनको सिक्री नपाएको भन्द्यै विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

प्रहरील्े बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।

बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेर पछि विवाद भएको थियो ।

बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए ।

बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । बेहुली पक्षका अनुसार ती सबै सामान उनलाई बिहे अघि नै दिइसकिएको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्