नेपालगञ्जबाट दुई दिनमा डेढ करोड रुपैयाँ बरामद


 


काठमाडौं, फागुन २८ । नेपालगञ्जबाट प्रहरीले दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

बाँके प्रहरील्े आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए ।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँसहित पक्राउ परे । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्