चलचित्र समीक्षा : पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’


 


काठमाडौँ, फागुन २८ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको वरिपरि घुम्छ, जसको बाटो अप्रत्याशितरूपमा एकार्कासँग जोडिएको हुन्छ ।

   विजय (दयाहाङ राई) आमाबाबुबिहीनताबाट दुःख पाएको मानिस हो । ऊ बाल्यावस्थादेखि नै तोता भाई यादव ९रूपेश झा० की हजुरआमाको साथमा हुर्केको हुन्छ । परिस्थितिले उसलाई अन्धकारको बाटोमा डो¥याउँछ । उसलाई चलचित्रभित्रको एक शक्तिशाली व्यक्तित्वमा रूपान्तरण गराइएको छ । उसले सानैदेखि समाजमा बलियो आफ्नो स्थान बनाउने दृढ सङ्कल्प राखेको हुन्छ । जसका कारण उसले साथी समेत गुमाउनु र अन्य अकल्पनीय घटना हुनुले चलचित्रको कथालाई रोचक बनाएको छ ।

   रङ्गेलीमा शक्ति र प्रभावको प्रतीकको रूपमा भगवान् दादा (अर्पण थापा) रहेको छ । ऊ राजनीतिक आरोहणको ठूलो महत्वाकाङ्क्षामा छ । विजय र भगवान् दादाबीचको असमझदारी चलचित्रको केन्द्रीय द्वन्द्व र शक्ति हो । विरोधाभासयुक्त विचारधारा र व्यक्तिगत प्रतिशोधले उत्तेजित विजय र भगवान्को सम्बन्ध द्वन्द्वमा परिणत हुन्छ । उनीहरूको एक पटक–सम्बन्धित सम्बन्ध विश्वासघात र महत्वाकाङ्क्षाको भरमा टुक्रिन्छ, जसले दर्शकलाई चलचित्रको कथाको घुम्ती भेट्टाउन मद्दत गर्छ । चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल (प्रवीण खतिवडा) को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।

   दर्शकले सबैभन्दा मनोरञ्जन लिने चलचित्रका पात्र हुन्, अभिनेता आर्यन सिग्देल । उनी अप्रत्याशित रूपमा अन्त्यमा आउँछन् । जतिञ्जेल रहन्छन्, तहल्का मच्चाउँछन् । उनको परिचय चलचित्रको सुरुदेखि अन्तिमसम्मै रहने पात्र गट्टु भैया (सुन्दर धिताल) ले गराउँछन्, जुन रोचक छ ।

   रङ्गेलीका कलाकारहरू प्रभावशाली छन् । प्रत्येक कलाकारले आफ्नो भूमिकामा गहिराइ र जटिलता ल्याउँछन् । डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन् । वफादारी र महत्वाकाङ्क्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक बनाउने प्रयास गरेको छ ।

   ‘रङ्गेली’को निर्देशन र छायाङ्कन पृथक देखिन्छ । चलचित्रले दर्शकलाई डरलाग्दा अवस्थामा डुबाउँछ र अपराधको जालो बुझिने धमिलो र उज्यालो प्रकाशयुक्त कोठा, वातावरण र तनावको स्पष्ट भावना सिर्जना गर्दछ । प्रकाश र छायाको प्रयोगले दृश्यमा सौन्दर्य थपेको छ । हरेक कुनामा लुकेको अप्रत्याशित दृश्यलाई क्यामेराको कुशलरुपमा झल्काउन खोजेको छ ।

   यसको पटकथाले एकाध ठाउँमा केही बिस्तारै गति लिए पनि निर्देशकको कथा भन्ने शैलीलाई सफल रूपमा पछ्याउँछ । निर्देशक र लेखक एकै जना भएको कारण पनि चलचित्रको ग्राफको गति बिग्रन पाएको छैन । निर्देशकले प्रयोग गरेका मेटाफोरहरूले दृश्य र कथालाई अलग स्वाद प्रदान गरेको छ । कलाकारहरूका चरित्र विकासमा निर्देशकले अथक मेहनत गरेको प्रस्ट देखिन्छ । 

   ‘रङ्गेली’को अर्को पक्ष संवादमा गरिएको मेहनत र पाश्र्व सङ्गीत हो । दृश्यहरूसँगै पछाडि सुनिने सङ्गीतका ‘इफेक्ट’हरू शानदार छन् । चलचित्रका खलपात्र अर्पण थापा र प्रहरी अधिकारी प्रवीण खतिवडाको लागि तयार गरिएका संवादले दर्शकको मथिङ्गल हल्लाउँछ । सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गर्दै तयार गरिएको संवाद विशेष छ ।

नवप्रवेशी कलाकारहरू रुपेश झा, सुन्दर धिताल, सान डोमा, सुजन खतिवडालगायतले तारिफयोग्य काम गरेका छन् । चलचित्रमा समावेश गीतहरू सान्दर्भिक नलाग्न सक्छन् भने सम्पादनमा केही मेहनत गर्न सकिन्थ्यो भन्ने महसुस हुन्छ । दर्शकलाई भण्डै तीन घन्टासम्म हलमा अडाउन चुनौतीपूर्ण रहेको अवस्थामा चलचित्र अलि लामो भएको भान हुन्छ ।

   ‘रङ्गेली’ अपराध र प्रतिशोधको कथा मात्र होइन, नेपालजस्तो देशमा रहने सामाजिक अवस्थाको प्रतिबिम्ब पनि हो । भलै चलचित्रमा देखाइएको जस्तो गुण्डागर्दीमा उत्रिने पात्रहरू खुलेआम  अस्तित्वमा त छैनन् तर, भित्रीरूपमा अपराधको जालो भने अविश्वसनीय छ । यो चलचित्रले त्यही सन्देश दिन खोजेको देखिन्छ । यो पहिचान, नैतिकता र शक्तिको खोजीका विषयवस्तु रहेको यो एक आकर्षक चलचित्र यात्रा हो । जसले हाम्रो समाजको मनोभावलाई दर्शाउँछ । रासस

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्