माओवादीबाट नारायण दाहाल र कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार


 


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । दाहाल प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस संसदीय दलको बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । सत्ता समीकरण परिवर्तनसँगै नयाँ गठबन्धनको स्थिति बलियो देखेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको छ । देउवाले सिटौलालाई राष्ट्रियसभा दलको नेता नियुक्त गरिसकेका छन् ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्