उदयपुरमा होमस्टे सम्मेलन गर्दै कोशी पर्यटन मन्त्रालय

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ ।
पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन लागेको हो । फागुन २९ गते र ३० गते उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा हुन लागेको हो । होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने छन् । होमस्टेलाई आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्नमिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको अधिकृत अर्यालले जनाए ।
‘हामीले होमस्टे सञ्चालनको तयारी तीव्र पारेका छौं, यो सम्मेलनमा होमस्टे सञ्चालकले निःशुल्क रूपमा सहभागिता जनाउन सक्नुहुनेछ,’ उनले भने ।
पर्यटन मन्त्रालयले विनियोजन गरेको १० लाख बजेटबाट आयोजना हुन लागेको सम्मेलनमा होमस्टे सञ्चालकले आफ्ना मौलिक खानपानका बारेमा प्रस्तुति राख्न पाउने छन् ।
यस्तै, होमस्टे व्यवसायबारे कानुनी र व्यावसायिक जानकारी दिन प्रदेशस्तरीय होमस्टे ‘बुकलेट’ पनि सार्वजनिक हुनेछ । कोशी प्रदेशभरि जम्मा एक सय पाँच होमस्टे सञ्चालनमा छन् ।
प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार