चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकामा पूर्वराष्ट्रपतिको दाबी


 


कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’का कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । बिहीबार पुस्तक विमोचन गरेर आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरेका हुन् ।

टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गरे । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो ।

उनका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उनलाई सत्ताबाट हटाएको हो । ‘मलाई सत्ताबाट हटाउन चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ,’ उनले भने ।

राजपक्षेले निश्चित मुलुकहरूको नाम लिएनन् । तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो।

आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजपक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलङ्काबाट बाहिर लगिएको थियो र उनले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गरेका थिए । यद्यपि पछि उनी स्वदेश फर्किसकेका छन् ।

पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दाबी गरेका छन् ।

बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ ।

आफ्ना दाजु महिन्दा राष्ट्रपति रहँदा शीर्ष रक्षा अधिकारीका रूपमा काम गर्दै सन् २००९ मा श्रीलङ्काको लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरेकामा राजपक्षेलाई कुनै समय सिंहाली बौद्ध बहुसङ्ख्यकबीच सम्मानित गरिएको थियो ।

सन् २०१९ मा भएको निर्वाचनमा उनी राष्ट्रपति पदमा भारी मतले विजयी भएका थिए । यद्यपि सुपरमार्केटका र्याकहरू खाली भएपछि र पेट्रोल स्टेसनहरूमा धेरै दिनसम्म लामो लाइन लागिरहेपछि तीन वर्षभन्दा पनि कम समयमा श्रीलङ्काको अर्थतन्त्र धरासायी भएसँगै उहँको लोकप्रियतामा कमी आयो ।

अर्थशास्त्रीहरूले अचानक देखिएको मन्दीका लागि राजपक्षे सरकारले सोचविचार नगरी करमा गरेको कटौतीलाई दोष दिएका छन् । कर कटौतीका कारण कोरोना भाइरस महामारीपछि विदेशी मुद्रा सञ्चितिमा भएको गिरावटको जवाफ दिन राजपक्षे सरकार असमर्थ रह्यो । रासस

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्