संसदको विहीबारको बैठक पनि अवरुद्ध


 


काठमाडौँ, पुस १४

प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसदको विहीबारको बैठक पनि अवरुद्ध भयो । सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले प्रदेश नम्बर–५ को सीमांकनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको बताए ।

उनले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलका सांसदसमेत रहेको भन्दै सो प्रस्ताव अगाडि नबढाउन आग्रह गरे । ५ नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्ताव अर्कै उद्देश्यका लागि ल्याइएकाले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नसक्ने उनको कथन थियो । उनको सो धारणालगत्तै नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल सम्बद्ध सांसदले उभिएर विरोध जनाएका थिए ।

सभामुख ओनसरी घर्तीले पटक–पटक आशनग्रहण गर्न आग्रह गर्दासमेत विपक्षी दलका सांसदले कुनै सुनुवाइ गरेनन् । सदनको विहीबारको बैठकको कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक, २०७३, स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ नेपालको संविधान (दोस्रो संशोधन), २०७३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख निर्वाचन आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल गराउने कार्यसूची रहेको थियो । व्यवस्थापिका–संसदको अर्को बैठक यही पुस १८ गते सोमबार मध्याह्न १ बजे बस्नेछ

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्