युक्रेनमा लडिरहेका महिला सैनिकहरूको पुटिनद्वारा प्रशंसा


 



मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गर्नुभएको छ ।

उहाँले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गर्नुभयो । उनीहरूको आफन्त सेनामा थिए । बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिनुभयो । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्णस्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार तीन लाखभन्दा बढी महिला सशस्त्र बलमा सेवा र काम गर्ने गरेको जानकारी दिनुभयो । गत वर्ष उहाँले युक्रेनमा करिब एक हजार एक सय महिलाले ‘लडाइँ’ लडिरहेको बताउनुभएको थियो । तीमध्ये अधिकांश चिकित्सक, नर्स र भान्सेजस्ता सहायक भूमिकामा छन् ।

अर्को भिन्नै भिडियो सन्देशमा शोइगुले युक्रेनमा लडिरहेका सैनिकका आमाहरूलाई धन्यवाद दिनुभयो । “तपाईंहरूले सच्चा देशभक्त र मातृृभूमिका बहादुर रक्षकहरू हुर्काउनुभएको छ”, उहाँले भन्नुभयो ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि रुसले सैनिकहरूलाई ‘नायक’ का रूपमा सम्मानित गरेको छ र सेनाको प्रतिष्ठा बढाउन तथा उनीहरूको सुरक्षा गर्न खोजेको छ ।

कडा सेन्सरसिप कानूनअन्तर्गत सशस्त्र बलहरूको ‘अपमान’ गर्ने वा सैन्य अभियानका बारेमा ‘गलत सूचना’ फैलाउने सैयौँ मानिसमाथि मुद्दा चलाइएको छ ।

हालैका साताहरूमा सङ्गठित सैनिकहरूका केही श्रीमतीले आफ्ना पतिहरूलाई अग्रिम पङ्क्तिबाट हटाएर घर ल्याउन माग गर्दै क्रेमलिनबाहिर दुर्लभ विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्