शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा चार हजार प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी


 


काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरेको हो । दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिने छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरु बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भिड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए ।

सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुने छ ।

प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिए ।

सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नेछन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्