गण्डकीमा आफ्नै नेतृत्वको सरकार बनाउन माओवादीको कसरत


 


पोखरा । नेकपा (माओवादी केन्द्र) ले गण्डकी सरकारलाई दिएको समर्थन बुधबारदेखि फिर्ता लिएको छ। संसदीय दलको बैठकले कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। साथै आफ्नै नेतृत्वमा सरकार गठनका लागि कसरत गर्ने निर्णयसमेत गरेको छ।

संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रको निर्णयसँगै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। उनले आफूहरु सरकार गठनको कसरतमा लागेको पनि बताए।

केन्द्रको सत्ता समीकरण फेरबदलसँगै मंगलबार मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारमा प्रतिनिधित्व गर्ने माओवादीका २ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए। उनले सामाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकास मन्त्री रेशम बहादुर जुग्जालीलाई मन्त्रीबाट हटाएका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ पनि राजनीतिक अस्थिरता निम्तिएको छ। ६० सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सिट छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेससहित एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीमध्ये कसैको पनि स्पष्ट बहुमत (३१ सिट) पुग्दैन।

नयाँ गठबन्धनसँगै यहाँ सरकार बन्न सजिलो छैन। गण्डकीमा एमाले वा माओवादी दुवै दल मिल्दा पनि बहुमत पुग्दैन। एमालेका २२ सांसद र माओवादीका (सभामुखबाहेक) ७ जना प्रदेश सांसद छन्। राप्रपाका २ सांसद छन्। मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी हुन्। राप्रपा यहाँ निर्णायक दल हो।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्