नयाँ गठबन्धनलाई भागबन्डा मिलाउनै सकस, शक्तिशाली मन्त्रालयमा सबैको आँखा !


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा बनेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासहितको नयाँ सत्ता समीकरणमा शक्ति विभाजनको सकस देखिएको छ।

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै एमालेसहित २०७९ पुस १० को समीकरण ब्युँत्याएका दलहरूले शक्तिशाली मन्त्रालयको दाबी नछाडेपछि शक्ति बाँडफाँटमा सकस देखिएको हो ।

सत्तारुढ दलमा भागबन्डाको विषय पेचिलो बनेसँगै मन्त्रालयले पूर्णता पाउन सकेको छैन। गृह, अर्थ, भौतिक, सहरी विकासलगायत मन्त्रालयमा माओवादी, एमाले र रास्वपा तीनवटै दलले आ–आफ्नो दाबी नछाडेपछि मंगलबार साँझसम्म कुनै निर्णय हुन सकेको छैन ।

हालसम्म रास्वपाले २०७९ सालको पुस १० कै जिम्मेवारीअनुसार सरकारमा आफ्नो सहभागिता हुनुपर्ने दाबी गर्दै आएको छ। त्यतिबेला रास्वपाले गृह तथा उपप्रधानसहित तीन मन्त्रालय पाएको थियो भने एक राज्यमन्त्री लिएको थियो।

अहिले पनि सोहीअनुसारको दाबी आफ्नो दलको बटम लाइन भएको र सभापति रवि लामिछानेकै नेतृत्वमा गृह मन्त्रालय लिएर सरकारमा जाने रास्वपाले जनाएको छ।

शक्तिशाली मन्त्रालयमा दलहरूको दोहोरो तेहेरो दाबी पर्न थालेपछि शक्ति बाँडफाँट पेचिलो बन्ने देखिएको कार्यदलका एक सदस्यको भनाइ छ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले सोमबार उपप्रधान र गृहसहित पाँच मन्त्रालय मागेपछि गठबन्धनभित्र शुरूमै तनाव उत्पन्न भएको थियो । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्