भारतीय प्रधानमन्त्रीले दिए पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई


 


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको थियो । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाउनुभएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभएको छ, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् । 

यद्यपि भारतमा सरिफलाई उहाँका पूर्ववर्ती खानको तुलनामा नयाँदिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्यरूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँ पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री हुनुहुन्थ्यो । 

उहाँले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गर्नुभयो र अन्य अधिकारीहरूसँग नयाँदिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गर्नुभयो । हिन्दू राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिनुभएको थियो । उहाँलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गर्नुभएको थियो । 

अप्रिलमा सम्भावित आम निर्वाचनमा तेस्रो कार्यकालका लागि प्रयासरत लोकप्रिय नेता मोदीको नेतृत्वमा भारतमा हिन्दू राष्ट्रवादी भावना बढेको छ । 

भारतले आफ्नो नियन्त्रणमा रहेको कास्मिरको भागमा आफ्नो पकड राख्ने प्रयासमा विवादपछि सन् २०१९ मा खानको प्रधानमन्त्रीत्व कालमा दुवै मुलुकले आफ्ना कूटनीतिक सम्बन्धलाई घटाएका थिए । हिमाली क्षेत्र कास्मिर दुवै मुलुकबीच विभाजित छ र दुवैले यसमाथि दावी गर्छन् । रासस/एएफपी

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्