फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य


 


काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे ।

दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे । आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्