१० दिन भित्रै निर्वाचन घोषणा


 


काठमाडौं, पुस १४
सरकारले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र अन्य विषयमा दलीय सहमति खोजेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बढीमा १० दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् ।

बुधबार तीन दलको र मधेसी मोर्चासँगको मंगलबार भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने, संविधान संशोधन विधेयक र निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्मा टेबुल गर्ने तथा त्यही अवधिभित्र स्थानीय तह निर्वाचनको मितिसमेत घोषणाको प्रस्ताव राखेका थिए ।

प्रचण्डले बुधबार पार्टी केन्द्रीय कार्यालय बैठकमा पनि सरकारको तयारीबारे जानकारी गराएका थिए । ‘संशोधन विधेयकलाई प्रक्रियामा लैजाने, अन्य विषयमा सहमति खोजी छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन घोषणा गरेर जाने सरकारको तयारी छ,’ प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त अर्को साता नै सरकारले दलहरूसँगको परामर्शका आधारमा निर्वाचनको मिति घोषणा गर्ने बताए । ‘केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुन्छ । घोषणा हुन मोटामोटी हप्ता दिन लाग्ला ।’

प्रमुख तीन दलबीच स्थानीय तहको नै निर्वाचन गराउने विषयमा सैद्धान्तिक सहमति भएको छ । सरकारले छिटै निर्वाचन मिति घोषणाको तयारी गरेको छ ।

संविधान संशोधनबारे भने दलहरू पुरानै अडानमा छन् । आजको नयाँ पत्रिका दैकिमा समाचार छ ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्