यसरी टुट्यो कांग्रेस–माओवादी गठबन्धन


 


काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनको १ वर्षपछि अविश्वास, असमझदारीलगायत विभिन्न कारणले टुटेको छ । ५ वर्षसम्म गठबन्धनलाई निरन्तरता दिने कांग्रेस र माओवादीले भाषण गरेको केही समय टिक्न नपाउँदै पानीको फोकाजस्तै फुटेको छ ।

संघीय र प्रदेशसभाको निर्वाचनपछि सुरुवाती दिनमा कांग्रेसलाई धोका दिँदै एमालेसँग गठजोठ गरेको माओवादीले पुनः एकपटक कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धनको हात अघि बढाएको छ ।

गत वर्ष एमालेसँग दुई महिना गठबन्धन गरेपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन ब्युँत्याउन निकै कसरत गरेका थिए ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्दा माओवादी अध्यक्ष तथा प्रधामन्त्री प्रचण्डले आफूलाई कांग्रेससँग गठबन्धन गर्न नपाएर उकुसमुकुस भएको बताएका थिए । एमालेसँगको पूर्वसमझदारीविपरीत उनले कांग्रेससँग दुई महिनामा पुरानो गठबन्धन ब्युँताएर रामचन्द्र पौडेललाई राष्ट्रपति दिलाए ।

१ वर्ष गठबन्धन राम्रैसँग चल्यो । तर, १ वर्षपछि एक अर्कोमा अविश्वासको वातावरण बन्दा पुनः एमालेसँग नयाँ समीकरण गरेर प्रचण्ड अघि बढेका छन् । उनले गठबन्धन तोड्दै गर्दा धम्कीपूर्ण रूपमा आफूलाई अपमानित गरे उथलपुथल हुने बताएका छन् ।

उनको यस भनाइले उनी पहिलादेखि नै गठबन्धन टुटाउन उद्दत थिए । उनलाई गठबन्धन टुटाउन एउटा बहाना चाहिएको थियो, जुन बहाना बन्यो नेपाली कांग्रेसको महासमिति बैठक ।

कांग्रेसको गोदावरीमा गत ७ देखि १० फागुनसम्म सम्पन्न महासमिति बैठकले पाँचवटा प्रतिवेदन पास गरेको थियो । जसमा महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा आउने निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने कुरा उल्लेख थियो । सो विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असहमति राख्दै सो बुँदा हटाउन महामन्त्री थापासँग आग्रह गरे । तर, थापा टसमस भएनन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्