अस्थिर राजनीतिको परिणाम : एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्तार


 


काठमाडौं । सत्ता समीकरण फेरबदलका माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिर राजनीतिको उपयोग गर्दै २०७९ पुस १० को गठबन्धनलाई पुनः ब्युँताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार रातारात प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर एक वर्षअघिकै समीकरण ब्युँताएर जाने निर्णय लिएका हुन् ।

संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो एमालेलाई प्रयोग गर्दै प्रधानमन्त्रीको कुर्सी हात पारेका प्रधानमन्त्री प्रचण्डले २०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल र १३ पटक मन्त्रीमण्डल पुनर्गठन गरिसकेका छन् ।

गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहित पाँच दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले ६४ दिनमै उक्त गठबन्धन तोडेर निर्वाचनअघिकै कांग्रेस–माओवादी गठबन्धनलाई ब्युँत्याएका थिए ।

कांग्रेससँगको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राजमो, जनमत, लोसपालगायत दलको समर्थन थियो ।

गत वर्ष चैत्र २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेलाई राष्ट्रपति नदिएर गठबन्धन फेरेको माओवादीले यसपटक कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष नदिने बहानामा गठबन्धन तोडेको हो । यद्यपि, यो खेलमा राष्ट्रियसभा अध्यक्षको मात्रै एजेन्डा थिएन ।

कोशी प्रदेशमा मुख्यमन्त्री बनाउँदा कांग्रेसका एक समूहबाट पाएको धोका, राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारले हारेको पीडा, कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा उल्लेखित ‘मुलुक माओवादीको दश वर्षे हिंसात्मक द्वन्द्वको चपेटामा परेको भन्ने वाक्यांश, सोही बैठकमा महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव र कांग्रेस नेता शंकर भण्डारीले चलाएको हिन्दु राज्य घोषणाको अभियानसमेतले काम गरेको माओवादीका नेताहरूले जिकिर गरेका छन् । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्