व्यावसायिक सुपारीखेतीमा संविधानसभा सदस्य राई


 


फिक्कल, फागुन २० । संविधानसभा सदस्य विष्णुकुमारी राई आजभोलि कृषि कर्ममा व्यस्त हुनुहुन्छ । उहाँ बिहानबेलुका भान्छाको कामबाहेक सबै समय सुपारीखेती स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ । राजनीतिमा लाग्ने जोकोहीले केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्छ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ ।

इलामको देउमाई नगरपालिका जन्मिनुभएका उहाँ पुरानो राज्यसत्ता परिवर्तन गर्ने भन्दै तत्कालीन नेकपा ९माओवादी केन्द्र०ले सुरु गरेको सशस्त्र युद्धमा विसं २०५७ देखि होमिनुभयो । शान्ति प्रक्रियापछि माई नगरपालिका–९ बोरुङमा पार्टीकै नेता श्रीमान् राई ‘पवन किराती’ सँग जनवादी विवाह गरेपछि उहाँको कर्मभूमि फेरियो । 

विसं २०६४ मा तत्कालीन नेकपाबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका विष्णुकुमारीको पाँचवर्षे कार्यकाल त्यति उपलब्धिमूलक बन्न सकेन । संविधान बनाउन संविधानसभा जानुभएका उहाँ संविधान नै नबनी संविधानसभा विघटन भएपछि आफ्नो कर्मगाउँ बोरुङ फर्केर सुपारीखेतीमा लाग्नुभएको हो । 

इलामको राजनीतिमा माओवादीको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका उहाँ अहिले राजनीतिबाट अलग जस्तै बनेर सुपारीका बोट स्याहार्दै आउनुभएको छ । उहाँले बोरुङमा व्यावसायिक सुपारीखेती थाल्नुभएको हो । पार्टीले लिएको नीतिअनुसार आर्थिक क्रान्तिका लागि कृषि कर्मतिर लागेको उहाँ बताउनुहुन्छ । 

कृषि प्रधान देश नेपालमा कृषिबाट देश विकास सम्भव रहेकाले आफू कृषि कर्मलाई प्राथमिकतामा राखेर अगाडि बढेको उहाँ बताउनुहुन्छ । “शान्ति प्रक्रिया सुरु भएदेखि नै कृषि कर्म गर्ने इच्छा थियो, संविधानसभा सदस्य भएपछि काठमाडौँ नै बसाइँ भयो, कृषिमा लाग्न पाइएन”, उहाँले रासससँग भन्नुभयो, “जब पहिलो संविधानसभा विघटन भयो, त्यसपछि कृषिबाट देश विकास सम्भव देखेकाले कर्मभूमिमा फर्केर कृषिको काम थालेको हुँ ।”

उहाँले करिब ५० रोपनी क्षेत्रमा सुपारीखेती लगाउनुभएको छ । उहाँको सुपारी बगानमा अहिले सुपारी फल्ने र हुर्कंदै गरेकासहित करिब आठ हजार सुपारीका बोट छन् । सुपारीखेती विस्तारमा अगुवाइ गर्नुभएका विष्णुकुमारीले बोरुङलाई सुपारी गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । 

“अहिले केही सुपारीले उत्पादनसमेत दिन थालेको छ, केही उत्पादन दिने तयारीमा छ”, उहाँले भन्नुभयो, “नयाँ बोट थप गरी अझ सुपारीखेती विस्तार गर्ने योजनामा छु, यस गाउँलाई सुपारी गाउँका रुपमा चिनाउने लक्ष्य छ ।” विष्णुकुमारीले सुपारी उत्पादनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको सुनाउनुभयो । 

व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले उहाँलाई बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्री हुने गरेको उहाँले बताउनुभयो । “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिन्छ, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँका घरआँगनका डिलदेखि खेतबारी र पाखामा समेत सुपारी रोपेर आयआर्जन गर्न सकिन्छ ।” 

कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले अन्य खेतीभन्दा सुपारीखेती गर्न सजिलो हुने उहाँको अनुभव छ । उहाँले सुपारीका साथै केराखेती, अम्रिसोखेती तथा गाई र भैँसीपालन गर्दै आउनुभएको छ । उहाँको कृषिकर्ममा पति पवनको पनि राम्रै साथ छ । एक छोरासहित तीन जनाको घरपरिवार सञ्चालन गर्न सुपारीखेती नै पर्याप्त रहेको उहाँ बताउनुहुन्छ ।

“शान्ति प्रक्रियापछि हाम्रा धेरै सहयोद्धा पैसा कमाउन भन्दै विदेश जानुभयो, “म त्यसलाई रोक्ने अभियानका साथ गाउँघरमा नै कृषि कर्ममा लागेकी हुँ”, उहाँ भन्नुहुन्छ, “नेपाल कृषिप्रधान देश हो, निरन्तरता दिएर लाग्ने हो भने कृषिबाटै मज्जाले कमाई गर्न सकिँदो रहेछ ।” 

उहाँले सशस्त्र युद्धको बलमा नेपालको व्यवस्थामा परिवर्तन भए पनि उत्पीडित जनताको अवस्था परिवर्तन नभएकोप्रति भने चिन्ता व्यक्त गर्नुभयो । नेपालको वर्गीय, जातीय, लैङ्गिक र भाषिक उत्पीडनका विरुद्ध आफूहरुले हतियार बोकेको स्मरण गर्दै उहाँले नेतृत्व कुनै न कुनै ठाउँमा चुकेको स्वीकार गर्नुभयो । उहाँ अहिले नेकपा ९माओवादी केन्द्र० को कोशी प्रदेश परिषद् सदस्य हुनुहुन्छ ।

उहाँको कृषिकर्म देखेर त्यहाँका अधिकांश किसानलेसमेत सुपारीखेती सुरु गरेका छन् । बोरुङ, घलेटार, निरफुकलगायतका किसानले व्यावसायिक सुपारीखेती गर्दै आएका छन् । प्रमुख नगदे बालीका रुपमा किसानले सुपारीखेती गर्दै आएका छन् । व्यावसायिकरुपमा सुपारीखेती गर्न थालेपछि किसानको आयआर्जनको स्रोतसमेत बढेको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्