नेपाल लगातार दोस्रो जित निकालेर एक खेल अगावै फाइनलमा
काठमाडौं, फागुन १९ । नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ ।
हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४(४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
गुलशनले ३६ बलमा ३८ रनको योगदान दिए । १४ औं आर्यन दत्तबाट बोल्ड हुनुअघि उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।
रोहितले ३३ बलमा ४६ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । उनी किंग्माले फालेको १५ औं ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै एकै ओभरमा आउट भएपछि नेपाल केहि समस्यामा परेको थियो । किंगमाले तेस्रो ओभरको तेस्रो बलमा कुशललाई १२ रनमा क्याच आउट गराए । त्यसपछि आसिफ पाँचौ बलमा ८ रन जोडेको अवस्थामा बोल्ड भए । त्यसपछि गुलशन र रोहितले बलियो साझेदारी निर्माण गर्दै नेपाललाई जित दिलाए ।
त्यसअघि नेदरल्यान्ड्सले १९।३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा प्रतिश जिसी र कुशल मल्लले लगातार २(२ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यक्रम ध्वस्त भएको थियो ।
नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे ।
नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २(२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो ।
करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । त्यसको दुई बलपछि साइब्रान्ड एंगलब्रेक्ट कट बिहाइन्ड भए ।
इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स ओ डाउडको विकेट लिए । यी दुईले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
पहिलो बलमा एडवार्ड्सलाई बोल्ड गरेका उनले पाँचौ बलमा म्याक्सलाई पेभेलियन फर्काए । स्कटले २१ बलमा १ छक्कासहित १८ रन जोडे । म्याक्स २४ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।
दशौं ओभरमा कुशल मल्लले नोआ क्रोस र आर्यन दत्तको विकेट लिए । पाँचौ बलमा क्रोस ६ बलमा ३ रन जोडेका उनी स्विप सट खेल्ने धुनमा फाइन लेगमा अभिनाश बोहोराको हातबाट समातिए । लगत्तै दत्त अर्को बलमा बोल्ड भए ।
कुशलले १५ औं ओभरको तेस्रो बलमा तेजालाई बोल्ड गरे । उनले १४ बलमा ५ रन जोडेका थिए । १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले टिम भान डर गुग्टेनलाई क्याच आउट गराए । उनले २५ बलमा २४ रनको योगदान दिए । लगत्तै गुलशन झाले डाइरेक्ट हिटमा काइल क्लेइनलाई खाता नखोली रनआउट गरे ।
अन्तिम ओभरको तेस्रो बलमा कुशल भुर्तेलले सानदार फिल्डीङ गरेर किंग्मालाई रन आउट गरिएको थियो ।
प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार