नेप्सेमा दोहोरो अंकको गिरावट


 


काठमाडौं, फागुन १७ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २८.६८ बिन्दुले घटेको छ । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन् ।

नेप्सेमा दोहोरो अंकको पहिरो चल्दा सूचक १९७२.०९ बिन्दुमा झरेको छ । पछिल्लो समय मनोवैज्ञानिक विन्दु भनिएको २००० बिन्दुबाट नेप्से स्वाट्टै तल झरेको हो । हिजो ०.८७ अंकले घट्दा नेप्से २०००.७७ बिन्दुमा अडिएको थियो ।

बिहीबार भएको कारोबारमा जम्मा १७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा क्रमशः १० र ९.८६ प्रतिशत सर्वाधिक वृद्धि भएको छ ।

आजको कारोबारमा जोशी हाइड्रोपावर र अपर अपर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले क्रमशः १० र ८.६२ प्रतिशत मूल्य गुमाएका छन् । बिहीबार सर्वाधिक बढी शेयर कारोबारमूल्य सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बजारमा गिरावट आए पनि अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्