मतदाता नामावली फागुन २८ गते प्रकाशन हुने


 


काठमाडौँ, फागुन १६ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अन्तिम नामावली प्रकाशन कार्याक्रम स्वीकृत गरेको हो ।

यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने उनको भनाई छ ।

उनका अनुसार यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिनेछ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति २०८० चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ ।

साथै, त्रुटिरहित र अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले उल्लिखित कार्यक्रममा प्रचारप्रसार, समन्वय, सहयोग र सहकार्यका लागि राजनीतिक दल, सञ्चार माध्यम एवम् सरोकारवाला सबैमा आयोगको आग्रह छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्