भ्रष्टाचार आरोपमा अदानचुलीका उपप्रमुख ऐडीसहित ११ जनाविरुद्ध मुद्दा दायर


 


काठमाडौं, फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धानले हुम्लाको अदानचुली गाउँपालिकाका उपप्रमुख सौमती रावल ऐडीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बुधवार अदानचुलीका उपप्रमुख ऐडीसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आदनचुली गाउँपालिका वडा नं। ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको उनीहरुविरुद्द आरोप रहेको छ । यसबारे आयोगले अनुसन्धान गर्दा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीको संलग्नता देखिएको छ ।

उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई गराएका थिए ।

यसका साथै उनीहरुले उक्त कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको पुष्टि भएको अख्तियारको भनाई छ ।

उनीहरुसंग सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्