ट्रक र बोलेरो ठोक्किँदा चालकसहित २ जनाको मृत्यु, ४ घाइते


 


वीरगन्ज, फागुन ९ । बाराको जितपुरसिमरामा ट्रक र बोलेरो पिकअप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बोलेरो पिकअप चालक नुवाकोट जिल्ला, विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० वर्षका सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर बस्ने २८ वर्षका चन्दन चौहान रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।

सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप बुधबार बिहान एकापसमा ठोक्किँदा दुर्घटना भएको न्यौपानेले जनाए ।

दुर्घटनामा घाइतेहरुमा भारतको बिहार राज्य मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने राहुल चौधरी, भारत बिहारकै महाराजगन्ज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान, सोही ठाउँ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिका–४ चौनपुर घर भई हाल जीतपुरसिमरा वडा नम्बर–२ हुलास टोल बस्ने रवि पटेल छन् । उनीहरु सबैको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्