पाँच सय ४२ किलो गाँजासहित दुई जना पक्राउ


 


चितवन, फागुन ७ । राप्ती नगरपालिका–३ झुरझुरेबाट प्रहरीले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई गाँजासहित पक्राउ गरेको हो ।

आज बिहान ८ बजेको समयमा गाँजा लोड गर्दैगर्दा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर ९डिब्बा ट्रक० नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

धादिङको मलेखुबाट ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामद गरिएको थियो ।

पक्राउ परेका थारु सोही ट्रकका सहचालक र दाहाल कन्टेनरका चालक रहेको उनले जानकारी दिए । ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्