नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सहज जित


 


काठमाडौँ, फागुन ७ । पहिलो खेलमा नेपाल विरुद्ध हार बेहोरेको नेदरल्याण्ड्सले आईसिसि लिग(२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको छ ।

१२४ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले ८१ बल खेलेर ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे ।

यस्तै अर्का ओपनर म्याक्स ओ’डाउडले २८ रन बनाए । साइब्रान्ड एङ्गलब्रेक्टले ६ रन जोडे । बास डे लिडे २१ र कप्तान स्कट एडवार्ड्स ४ रन बनाएर अविजित रहे । नामिबियाका लागि ३ विकेट नै कप्तान जेरार्ड इरासमसले लिन सफल भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि सर्वोत्कृष्ट ओडीआई बलिङ प्रदर्शन गरेपछि नामिबिया खेलमा सामान्य योगफल खडा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५।१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए । यो नेदरल्याण्ड्सका लागि एक दिवशीय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन समेत हो ।

यस्तै काइल क्लाइनले ५।१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक(एक विकेट लिए ।

नामिबियाका लागि जेजे स्मिटलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए । उनलाई म्याक्स ओ-डाउडले २८औ ओभरमा आठौ विकेटका रुपमा आउट गरेका थिए । यस्तै तल्लोक्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्कासहित २० रन बनाए । उनी भने रुलफ भ्यान डर मर्वाको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट गरेका थिए ।

नामिबियाको शीर्षक्रमका कुनै ब्याटर चल्न सकेनन् । ओपनर निकोलास डाभिन आठौ ओभरमा १८ बल खेल्दै १३ रन बनाएर पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई काइल क्लाइनले आउट गरेका थिए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए ।

ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए । ज्यान फ्राईलिंकलाइ पनि दत्तले शुन्यमा आउट गराए । कप्तान जेरार्ड इरासमसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाएपछि दत्तकै बलमा साइब्राण्ड एङ्गलब्रेक्टलाई क्याच दिन पुगे ।

ज्यान निकोल लोफ़्टि(इटन पनि शुन्यमा दत्तकै बलमा बोल्ड भए । जेन ग्रिनलाई दत्तले १९ रन बनाएको अवस्थामा क्याच आउट गराए । त्यसपछि अन्तिम विकेटका रुपमा बर्नार्ड स्कोल्ज १२ रन बनाएर क्लाइनको बलमा बोल्ड भयेपछि इनिङ समाप्त भयो ।

नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा शनिवार नेपाल विरुद्ध ९ विकेटले पराजित भएको थियो । नामिबियाले भने पहिलो खेलमा नेपाल माथि ४ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो । तीनै टोलीको २-२ खेल खेल्दा समान २-२ अंक भएको छ । अर्को खेल बुधबार घरेलु टोली नेपाल र नामिबियाबीच हुनेछ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्