चार दिनसम्म मौसम बदली रहने


 


काठमाडौं, फागुन ७ । मौसम पूर्वानुमान् महाशाखाले आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ।

महाशाखाका अनुसार बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको असले असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्