बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्छु : प्रधानमन्त्री


 


काठमाडौँ, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ युवाको प्रहरीको गोलीबाट हत्या भएको विषयमा छानबिन समितिले आफूलाई अध्ययन प्रतिवेदन बुझाइसकेको भन्दै उनले त्यसलाई अध्ययन गरेर दोषीलाई आव्रयक कारबाही गरिने बताए ।

‘बालकुमारी घटनामा अध्ययन गर्न मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो,’ उनले भने, छानबिन समितिले बनाएको प्रतिवेदन गृह मन्त्रालयबाट भर्खर मेरो हातमा परेको छ, त्यसको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म विश्वास दिलाउन चाहन्छु ।’
उनले उक्त घटनामा सरकारले पीडित परिवारलाई १० लाख दिएर चुप लागेर नबसेकोसमेत बताए ।

प्रचण्डले रोजगारीको निम्ति विदेश जान आएका दुई युवाको हत्यालाई गम्भीर रूपले लिएर उनका परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको जानकारी गराए ।

संसदमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्