वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु


 


रामेछाप, फागुन ५ । रामेछापको रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना सर्केर मृत्यु भएको छ ।
वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केरउनको मृत्यु भएको हो । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको र अवस्था सामान्य छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्