प्रहरी जवान हत्या प्रकरण : पत्नीले सम्बन्ध बिच्छेद गर्न खोजेपछि गोली प्रहार


 


काठमाडौँ, फागुन ४ । दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाले सम्बन्ध विच्छेदका लागि ‘फराद पत्र’ दर्ता गरेपछि उनका श्रीमान प्रहरी जवान यमबहादुर झाँक्रीले गोली हानेको खुलेको छ ।

घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान थापालाई उनका श्रीमान् झाँक्रीले फागुन ३ मा साँझ झाँक्रीले गोली प्रहार गरेका थिए । गोली लागेर धनमायाको मृत्यु भएको थियो ।

आफूसँग भएको पेस्तोलबाट यमबहादुरले ३ राउन्ड गोली हानेका हुन् । उनले हानेको गोली मृतकको बायाँ कोखामा लागेको छ ।

यमबहादुर कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत थिए । उनले आफूले बोक्ने पेस्तोलबाट गोली प्रहार गरेको भेटिएको छ ।

अदालतमा धनमायाले सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्याको कारण ‘पारिवारिक समस्या’ रहेको लुम्बिनीका डीआईजी कुवेर कडायतले बताए ।

सहायक हवल्दारले पेस्तोल बोक्न नपाउने भए पनि उनले कसरी पेस्तोल लिएर दाङ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जबाट आरोपीले ४ दिन बिदा लिएका थिए ।

पत्नीलाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई लमहीस्थित अर्जुन खोलाबाट पक्राउ गरेको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्