नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने


 


सिमकोट, फागुन ४ । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।

यसअघि नेपालगञ्ज–सिमकोट–नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । यसका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ ।

“नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज(सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि सुर्खेत(सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । 

सिमकोट(सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताउनुभयो । “सिमकोट(सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो । 

सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्