गाजामा बन्धक बनाइएकाहरुका परिवार न्याय खोज्दै हेग पुगे


 


एजेन्सी । गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधिले हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्न बुधबार हेग पुगेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा करिब २५० जनालाई अपहरण गरेका थिए, जसमध्ये करिब १३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । “यो हाम्रो कथा मात्र होइन । यदि हामीले यसलाई रोकेनौं भने भोलि यो सारा विश्वको कथा हुनेछ,” गाजामा बन्धक बनाइएका मध्येका एक व्यक्तिका आफन्त ओफ्री बिबासले भन्नुभयो ।

“सम्पूर्ण मानव जातिले एक विश्वव्यापी ‘आतङ्कवादी सेना’ बिरूद्ध एक साथ उभिनु पर्छ, यसमा हमास उसको अभियानको एक इकाई मात्र हो,” हेगको लागि उडान भर्नुभन्दा केही मिनेट अघि उहाँले भन्नुभयो ।

‘होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरम’ का हेम रूबिनस्टाइनले अभियान समूहले हमासका नेताविरुद्ध आइसिसीमा मुद्दा दायर गर्ने बताउनुभयो ।
रुबिनस्टाइनले तेल अभिभ नजिकै बेन गुरियन विमानस्थलबाट टेलिभिजनमा प्रसारण गरिएको भिडियो सन्देशमा भन्नुभयो, “हामी बन्धकका परिवार हौं र हामी भयानक नारकीय अवस्थाबाट गुज्रेका छौं र अझै पनि गुज्रिरहनुपर्ने बाध्यता देखिएको छ ।”

उहाँले भन्नुभयो, “हामी हमासका सदस्य र तिनका सहयोगीहरूविरुद्ध मुद्दा दायर गर्नेछौं र उनीहरूले मानवताविरुद्धको अपराधका लागि सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने सुनिश्चित गर्नेछौं ।”

इजरायलको आधिकारिक तथ्याङ्कका आधारमा एएफपीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको हमासको आक्रमणका कारण इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलमा भएको आक्रमणमा परी कम्तीमा २८ हजार ४७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बन्धक बनाइएका परिवारले इजरायली अधिकारीहरूलाई बाँकी बन्धकहरूको रिहाईका लागि दबाब दिइरहेका छन् ।

इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेयाले मङ्गलबार इजिप्टको राजधानीमा सिआइएका निर्देशक विलियम बन्र्सलाई भेटेर गाजामा युद्ध रोक्ने कतारी मध्यस्थताको योजनाबारे छलफल गर्नुभएको थियो ।

कतारका प्रधानमन्त्री र इजिप्टका अधिकारीसमेत सम्मिलित उक्त वार्ता इजरायलले दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण गर्नुअघि युद्धविरामको लागि तीव्र प्रयासको एक भाग हो । यस क्षेत्रको आधाभन्दा बढी जनसङ्ख्या पलायन भएको छ ।

नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता गम्भीर अपराधको अनुसन्धानका लागि आइसिसी विश्वको एक मात्र स्वतन्त्र अदालत हो ।
अदालतका मुख्य अभियोजक करिम खानले सोमबार गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न आह्वान गर्दै रफाहमा इजरायलको सम्भावित आक्रमणबारे चिन्ता व्यक्त गर्नुभएको थियो ।

खानले एक्समा भन्नुभएको छ, “गाजामा भएका घटनाहरूको बारेमा आफ्नो कार्यालयको अनुसन्धानलाई ‘अति तात्कालिकताको रूपमा अगाडि बढाइएको छ ।” रासस/एएफपी

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्