नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा


 


काठमाडौँ, फागुन २ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६।५ ओभरमा पूरा गरेको हो । त्यसअघि कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको थियो ।

नेपालका लागि बलिङतर्फ ह्याट्रिक लिएकी सीता रानामगरले ब्याटिङतर्फ १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दु वर्मा २१ बलमा २२ रन जोड्दै नटआउट रहिन् । कविता कुँवर १ रनमा रनआउट हुँदा कविता जोशीले एक बल खेल्दै चौका प्रहार गरेकी थिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।

सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।

यस्तै रुबिना क्षत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् ।

कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३(१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकालेको थियो । सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दा अर्को सेमिफाइनलमा यूएई र थाइल्याण्ड खेल्दैछन् ।

फाइनल पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कप २०२४ खेल्ने छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्