पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला


 


काठमाडौं, फागुन १ । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने हजुरबुवा र नाति मंगलबार विहान मृत फेला परेका हुन् ।

६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरण घरदेखि अन्दाजी ५०० मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए ।

उनीहरू छाप्रो बाहिर उत्तानो परेको अवस्थामा अन्दाजी १५ मिटरको दुरीमा मृत फेला परेका हुन्।

विगत ४ वर्षदेखि उनीहरू छाप्रोमा बसेर खेतिपाती गर्दै आएका थिए। स्थानीयले दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा टोली खटिएको थियो ।

उक्त घरमा मृतकका एक जना छोरा, दुई नाती, एक जना नातिनी र एक जना बुहारी बस्दै आएका थिए ।

रोजगारीका लागि छोरा डेढ महिना देखि भारतमा छन् । छोरा विदेश गएपछि बुहारी एक जना नाती र नातिनी लिएर माइतीमा बस्दै आएको खुलेको छ ।

डिएसपी बोहराका अनुसार घटना शंकास्पद छ । यसबारे थप अनुसन्धान अघि बढाएको उनले बताए ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्