दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने


 


काठमाडौँ, फागुन १ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्।

उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।

प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । यस्तै उनले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । तर राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो ।

तर अर्को राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने प्रसाईंको आन्दोलनलाई सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै आएका छन् ।

यस्तै केही हिन्दुवादी संगसंगठन र राप्रपाकै केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने बताउँदै आएका छन् । प्रसाईंले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् भने मिटरब्याज र लघुवित्त पीडितको मुद्दालाई अगाडि बढाएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्