नेपालले जित्यो क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि


 


काठमाडौं, माघ २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो ।

क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज एक खेल बाँकी रहँदै २-० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।

कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहले अर्धशतक बनाएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केही दबाबमा पर्यो ।

रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।

ओपनर अनिल शाहको आक्रामक सुरुवातपछि कप्तान रोहित र देवले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।

देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाए ।

देव आउट भएपछि क्रिजमा आएका भीम सार्की २१ बलमा २३ रन जोडेर आउट भए । ४ चौका प्रहार गरेका उनी दिलप्रित बज्वाको बलमा विकेटकिपरबाट समातिए । पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा ठाकरकै बलमा कट बिहाइन्ड भए । सोमपाल कामी र कुशल मल्लले ९-९ रनमा नटआउट रहे ।

त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।

पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको थियो । त्यसपछि अनिल र रोहितले इनिङ सम्हाल्दै जितको आधार तयार गरे ।

क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।

कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।

३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए ।

३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।

पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो ।

प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्