कोशी सरकार र पहिचानवादीबीच पाँचबुँदे सहमति


 


विराटनगर, माघ २६ । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच पाँचबुँदे सहमति भएको छ ।

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको तीन सदस्यीय वार्ता समितिसँग पहिचान पक्षधरका ११ जनाले बिहीबार र शुक्रबार दुई दिनसम्म वार्ता गरेका थिए ।

विराटनगरमा शुक्रबार भएको दोस्रो चरणको औपचारिक द्विपक्षीय वार्तापछि सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति भएको हो । जसमा प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्नेलगायत पाँचबुदे सहमति गरेका हुन् ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने सहमति भएको छ ।

यस्तै, फागुन १० गतेअगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक जबेगुले जानकारी दिए ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्