माओवादी केन्द्रले चीनलाई बनायाे ‘रुनु न हाँस्नु’


 


काठमाडाैं । कुनै समय ‘चीन निकट’ को आरोप भोगेका पुष्पकमल दाहाल (प्रचण्ड) तेस्रो पटक प्रधानमन्त्री रहेका बेला उनी नेतृत्वको सरकार र माओवादी केन्द्रले चीनलाई ‘रुनु न हाँस्नु’ को स्थितिमा पुर्‍याइदिएको छ। जाजरकोट भूकम्पपछि सहयोग गर्न स्थानीय माओवादीद्वारा निम्त्याइएकी एक चिनियाँ अधिकारीलाई माओवादी नेतृत्वकै सरकारले ‘देश निकाला’ गरेर यो स्थितिमा पुर्‍याइदिएको हो।

डेढ सयभन्दा बढीको ज्यान गएको र झण्डै चार सय घाइते भएको जाजरकोट भूकम्पका पीडितहरुलाई राहतका लागि स्थानीय माओवादीको अपेक्षा अनुसार ‘चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन’ की नेपाल निर्देशक सोउ सिच्याङ मंसिर तेस्रो साता जाजरकोटको रिम्ना पुगेकी थिइन्। सो राहत वितरणका लागि माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि रिम्ना गएका थिए।

यो टोली जाजरकोटको भेरी नगरपालिका– १ मा पर्ने रिम्ना बजारमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीको घरमा १९ मंसिरमा बास बसेको थियो। केसी सीमावर्ती रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पूर्वमेयर (२०७४–०७९) पनि हुन्। उनकी पत्नी लुम्बिनी गौतम हाल माओवादी केन्द्रबाटै जिल्ला समन्वय समिति रुकुम पश्चिमको संयोजक छिन्।

माओवादी केन्द्रबाट निर्वाचित भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाका अनुसार सो राहत सामग्री २० मंसिरमा बागेश्वरी माविमा कार्यक्रम आयोजना गरेर बाँड्ने कार्यक्रम थियो।

‘भोलिपल्ट (२० मंसिर) १२ बजे राहत वितरण कार्यक्रम भएकाले स्थानीयवासीलाई खबर गर्न म अघिल्लै दिन त्यसतर्फ लागेँ,’ वडाध्यक्ष रानाले भने, ‘तर, २० मंसिर बिहानै हाम्रै पार्टीका साथीहरुबीच झगडा भएछ। झगडाका क्रममा राहत लिएर आएकी चिनियाँ महिलामाथि कुटपिट भएछ। साह्रै खल्लो घटना भयो।’

जानकारहरुका भनाइमा जसले राहत लिएर गयो, उसैमाथि कुटपिटको घटनाको पृष्ठभूमिमा रुकुम–जाजरकोट र माओवादी केन्द्रका महासचिव देव गुरुङ र जनार्दन शर्माबीचको अदृश्य संघर्षको भूमिका थियो।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्