भरतपुर महानगर र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना


 


चितवन, माघ २५ । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को ९ट० अनुसार भगिनी सम्बन्ध स्थापना गरिएको हो । दुवै नगर प्रमुखले विभिन्न १० बुँदे अवधारणा पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गर्नु भएको हो । 

शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन पूर्वाधार, संस्कृती, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोगलगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

अबधारणा पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको बृद्वि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् । उक्त समझदारी पाँच वर्षका लागि हुने छ ।

भरतपुर महानगरकी प्रमुख दाहालले जिल्ला भित्र पहिलो पटक भगिनी सम्बन्ध कायम गरिएको बताउनुभयो । भगिनी सम्बन्ध स्थापनासँगै माडीको विकासका लागि महानगरले सहयोग गर्ने उहाँले बताउनुभयो । 

माडी नगरपालिकाका प्रमुख महतोले माडीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उहाँको भनाइ थियो । 

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्