नेपालले क्यानाडालाई दियो मध्यम लक्ष्य


 


काठमाडौँ, माघ २५ । एकदिवसिय शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडालाई मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाउँदै २२४ रनको योगफल खडा गरेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे ।

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ शेख २४ बलमा ८ रन मात्र बनाएर १०औ ओभरको पहिलो बलमा उदय भगवानको बलमा थर्ड(म्यानमा क्याच आउट भए । कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्र बनाएर १५औ ओभरमा इश्वरजोत सोहिको बलमा आउट भए ।

कुशल भुर्तेल आउट हुने तेस्रो ब्याटर थिए । उनी १९औ ओभरमा क्यानाडाका कप्तान साद बिन जफरको बलमा स्टम्प भएका थिए । भिम शार्की पनि सादकै बलमा १७ रन बनाएर २३औ ओभरमा पेभेलियन फर्किए ।

कुशल मल्लले मध्यम सुरुवात गरेपश्चात ३२ बलमा २० रन बनाएर हर्ष ठाकेरको बलमा लङ्ग(अनमा क्याच आउट हुन पुगे । आरिफ शेखले केही बेर इनिङ सम्हाल्दै ५० बलमा ४ चौका सहित ३८ रन बनाएर भगवानकै बलमा बोल्ड हुन पुगे । त्यसपछि आउट भएका र धेरै समय पछि राष्ट्रिय टोलीमा फर्किएका पवन सर्राफले १५ रन मात्र बनाउन सके ।

सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो शट प्रहार गर्ने क्रममा लङ(अनमा क्याच आउट भए । आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए । ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । डेब्यु गरिरहेका अर्का खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।

क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिम ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । यस्तै शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १(१ विकेट लिए ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्