नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, कति भयाे कमाई
काठमाडौं, माघ २५ । जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धी भएको हो ।
कम्पनीले समीक्षा अवधिमा रु ३ अर्व १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । नविकरण बीमाशुल्क १६ अर्व ८३ करोड रहेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दावी भुक्तानी गरेको छ ।
कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।
गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १५० अर्व ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ । ८ अर्व २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।
समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिने कम्नपीले जनाएको छ ।
आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अवलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनुभयो ।
साथै यस प्रगतिमा अहोरात्र साथ दिनुहुने समस्त सरोकारवालाहरुलाई प्रमुख कार्यकारी अधिकृत पराजुलीले धन्यवाद समेत दिनुभयो ।
प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार